ताप्लेजुङ : खोल्सीको सुन (मसलाकी रानी)ले परिचत अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान हर्षित भएका छन् ।ताप्लेजुङ नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला पनि हो ।
विगतका बर्षमा भन्दा यस बर्ष अलैँचीको मूल्य बढेको त्यहाँका कृषकले वतायका छन् । गतवर्ष प्रतिमन २६ हजारदेखि ३२ हजारसम्ममा अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् ।
अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन ७० हजारदेखि ८० हजारसम्ममा बिक्री गरेको जानकारी दिए ।
‘सुरुवातमा प्रतिमन ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साताअघि ८० हजारसम्म पनि पुग्यो । अहिले प्रतिमन ७१ हजारमा अलैँची बिक्री भइरहेको छ ।’अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङ्लिङ नगरपालिका–५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ ।
‘पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो । अलैँचीको मूल्यमा यसरी वृद्धि भएकाले कृषकहरू उत्पादन गर्न उत्पाहित भएका छन् ।’ उनले भने ।
उनका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । ‘गतवर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन ७८ हजारदेखि ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन्’ उनले भने ।
अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्ने कार्य हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ ।
ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ ।














Discussion about this post