मोरङ : मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको निर्मम हत्या गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न मोरङको ग्रामथान गाउँपालिका ४ का ३८ वर्षीय धीरेनकुमार चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेर मंगलबार साँझ सार्वजनिक गरेको हो ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिका ६ सल्ले घर भइ पथरीशनिश्चरे नगरपालिका ७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम हत्या भएको थियो ।
हत्याको प्रमुख कारण प्रेम सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सोमबार राति शौचालय गएका बेला हतियार प्रहार गरिएकी बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्यापछि फरार बनेका धीरेनलाई मंगलबार दिउँसो २ः३० बजेतिर बेलबारीको भाउन्नेस्थित जंगलबाट पक्राउ गरिएको एसपी जानकारी कार्कीले दिए । उनका अनुसार ज्ञानमतिको हत्या गरेको धीरेनले स्वीकार गरेका छन् ।
धीरेन र बालिकाबीच करिब डेढ वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र इमोमार्फत चिनजान भएपछि दुवैजना प्रेम सम्बन्धमा रहेका थिए ।
‘छोरा उमेरकी बालिकासँग धीरेन प्रेम सम्बन्धमा रहेको पाइएको छ । बिहे गर्ने योजना बनाएर एकपटक उनीहरू भागेको पनि खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘तर, भारततर्फ जाँदै गर्दा मानव बेचबिखनको क्षेत्रमा कार्यरत संस्थाले उद्धार गरेर बालिकालाई अभिभावकको जिम्मा लगाएको रहेछ । बिहे सम्भव नभएपछि धीरेनले योजनावद्ध हिसाबले ज्ञानमतिको बीभत्स हत्या गरेको पत्ता लाग्यो ।’
हत्या गर्ने योजनाका साथ धीरेन केही दिनअघि मात्र बारा जिल्लाबाट मोरङ आएको एसपी कार्कीले बताए । उनका अनुसार धीरेनकी एक श्रीमती र १४ वर्षीय छोरा छन् ।
श्रीमती ४ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा बस्दै आएको खुलेको छ भने श्रीमतीले छोरालाई पनि दुबई नै लगेकी छन् ।
प्रहरीका अनुसार धीरेन र उनकी श्रीमतीबीचकोे सम्बन्धमा दरार उत्पन्न भएको थियो ।
‘श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत बालिकासँग नजिकिएका धीरेनले प्रेम र बिहेको बहानामा अन्ततः उनैको बीभत्स हत्या गरेको पाइयो,’ एसपी कार्कीले भने, ‘डेढ वर्षदेखि उनीहरू माया–प्रेममा रहेको खुलेको छ ।’
एसपी कार्कीका अनुसार खाना खाएर सुत्नुअघि शौच गर्न जाने क्रममा बसेकै घरको कम्पाउण्डमा सोमबार राति १०ः३० बजेतिर धीरेनले धारिलो हतियार प्रहार गरेर ज्ञानमतिको बीभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धानसमेत अगाडि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।
यो पनि – मोरङमा बालिकाको बीभत्स हत्या गर्ने एक पुरुष पक्राउ
यो पनि – मोरङमा १५ वर्षीया बालिकामाथि पटकपटक धारिलो हतियार प्रहार गरी बीभत्स हत्या













Discussion about this post