इटहरी : अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा चर्च ब्वाइजले न्यूरोड टिम काठमाडौंलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।
चर्च ब्वाइजका लागि खेलको ३७ औं मिनेटमा विदेशी खेलाडी अवायुमे फाकुन्लेले सुरुआती गोल गरे । पहिलो हाफमा १–० ले अग्रता लिएको चर्च ब्वाइजले हाफपछि थप १ गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ८४ मिनेटमा न्यूरोडका लागि विदेशी खेलाडी अफिज ओलावालेले १ गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसलगत्तै चर्च ब्वाइजका लागि खेलको ८६ मिनेटमा सुरजजीउ ठकुरीले १ गोल गर्न सफल भए ।
अन्तिम समय पुग्नै लाग्दा बराबरी भएपछि खेल थप रोमाञ्चक बनेको थियो । खेल बराबरी भएपछि चर्च ब्वाइज आक्रमक बन्यो ।
निर्धारित समयमा २–१ ले अग्रता लिएसँगै चर्च ब्वाइजले सेपिफाइनलका लागि सिट सुरक्षित गरेको हो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका सुरजजीउ ठकुरी घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
राष्ट्रिय जागृति क्लब (राजा) को आयोजनामा इटहरी रंगशालामा भइरहेको प्रतियोगिताको बुधबारको पहिलो सेमिफाइनल खेल साबिक विजेता सगरमाथा युथ क्लब मोरङ र त्रिभुवन आर्मी क्लब काठमाडौँबीच हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ ।
विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउनेछन् ।














Discussion about this post