विराटनगर : कोशी प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेस भएको छ ।
आजदेखि सुरु भएको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्तावमा नेकपा माओवादी केन्द्रले समर्थन गरेको सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस भएको हो ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा समक्ष सङ्कल्प प्रस्ताव पेस गरेका हुन् ।
सङ्कल्प प्रस्ताव पेस गर्ने क्रममा बोल्दै भण्डारीले संसद्को सर्वोच्चता देखाउन सङ्कल्प प्रस्ताव पेस भएको जानकारी गराए ।
सङ्कल्प प्रस्ताव पास हुँदा पनि मुख्यमन्त्रीले मार्ग प्रशस्त नगरे, संसद्को विशेष अधिकार हनन भए अदालत जस्तो न्यायिक क्षेत्रमा पनि प्रवेश गर्ने चेतावनी दिए ।
‘सरकार अल्पमतमा परेपछि शासन गर्ने अधिकार रहँदैन,’ उनले भने, ‘अब यो सङ्कल्प प्रस्ताव पारित हुन भन्दा पहिला नै मार्ग प्रशस्त गर्न सक्नुहुन्छ ।’
असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र कात्तिक १ गते विश्वासको मत दिएको भएपनि सरकारलाई समर्थन गरिरहन नसकिएपछि विश्वासको मत फिर्ता लिइएको स्पष्ट पारे ।
एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएको र सरकार नै छाडिसकेको अवस्थामा मुख्यमन्त्री अल्पमतमा परेको दाबी उनको छ ।
‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन,’ भण्डारीले भने, ‘संसदीय सर्वोच्चता भनेको बहुमतले शासन चलाउने र अल्पमत प्रतिपक्षमा बस्ने भन्ने नै हो ।’
बिहीबारको प्रदेशसभा बैठकमा एमालेका ३९, माओवादीका १३, राप्रपाका ५ र जसपाको १ गरि ५८ सांसद विपक्षी बेञ्चमा बसेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी)का ४ सांसद मात्रै सत्ता पक्षको बेञ्चमा बसेका छन् । यद्यपि, बैठकमा सत्तापक्षमा २४ जना सांसद मात्रै उपस्थित भएका छन् । विपक्षमा भने ५२ जनाको उपस्थिति छ रहेको थियो । बैठकमा सत्तापक्षका ९ र विपक्षका ६ सांसद अनुपस्थित थिए ।














Discussion about this post