विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुने बताएका छन् ।
विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताए ।
उनले सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण बेरोजगारी समस्या बढ्दै गएको दाबी गरे ।
‘कलेजस्तरको पढाइ पूरा गरेपछि त्यो विद्यार्थीले रोजगारी पाउनुपर्छ । रोजगारी गर्न चाहँदैन भने आफैं स्वरोजगार हुने सीप र ज्ञान प्राप्त गरेको हुनुपर्दछ,’ उनले भने, ‘किताबी ज्ञानसँगै बाहिरका व्यवहारिक ज्ञान पनि दिनुपर्छ । पढेर जागिर नै खानुपर्छ भन्ने पनि छैन । अन्य पेशा व्यवसाय गरेर आत्मनिर्भर पनि हुन सकिन्छ । अबको शिक्षा रोजगारमूलक हुनुपदर्छ ।’
विदेशतिर निश्चित उमेरसम्म मात्रै अभिभावकले छोराछोरीको दायित्व निर्वाह गर्ने गरेको स्मरण गरे ।
‘त्यसपछि छोराछोरी आफैंले जागिर गर्ने हो कि, व्यापार व्यवसाय गर्ने हो कि के गर्ने हो उनीहरु आफैंले डिसाइट गरेर आत्मनिर्भर हुनुपर्दछ,’ मेयर कोइरालाले भने, ‘किनभने उनीहरुले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षालाई जोड दिएका छन् । हामीकहाँ सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण हरेक वर्ष बेरोजगारी समस्या बढ्दै गएको छ ।’
विद्यालयस्तरदेखि नै पाठ्यक्रममा आमूल परिवर्तन गर्नु जरुरी रहेको उनको भनाइ छ ।
उनले भने, ‘किताबभन्दा बाहिर पनि अर्को संसार छ भनेर विद्यार्थीलाई बुझाउनु जरुरी छ । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानभन्दा बाहिरको ज्ञान ग्रहण गर्न सहज हुने देखिन्छ । अझ विद्यार्थीको ज्ञानको भण्डारलाई थप फराकिलो बनाउनुका साथै बौद्धिकस्तरलाई पनि बढाउँछ ।’
जुनियर जेसीजले विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटको प्रायोजनमा प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम, जनता मावि इटहरी द्वितीय र सगरमाथा स्कुल विराटनगरले तृतीय स्थान हासिल गरेका छन् ।
विजेता विद्यालयलाई प्रमुख अतिथि रहेका मेयर कोइराला, काबरा ग्रुपका प्रबन्ध निर्देशक नवलकिशोर काबरा, श्याम काबरा, प्रतियोगिता सञ्चालक (क्वीज मास्टर) डा. सन्देशदास श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष गौरव कर्णलगायतले विजेता स्कुलका विद्यार्थीहरूलाई क्रमशः ११, ७ र ५ हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगिताको फाइनलमा ६ वटा विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक श्रीयम सुवेदीले जानकारी दिए ।














Discussion about this post