झापा : झापाको बिर्तामोड ४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ । चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षीया विष्टको हत्या गरेको खुलेको झापाका प्रहरी प्रमुख (एसपी) मिलन केसीले बताए ।
बिर्तामोड–४ का २२ वर्षीय राजवंशीले सोही स्थानका २३ वर्षीय महेश राजवंशीको सहयोगमा हत्या गरेको केसीले जानकारी दिए ।
प्रहरीले चोरीको सामान लुकाउन भूमिका खेलेको अभियोगमा गंगाप्रसादकी श्रीमती वर्षा राजवंशी, चोरीको सामान बेच्न सघाउने सोही ठाउँमा ‘ज्याक’ भनिने भगीरथ माझी र चोरीको सामान खरिद गर्ने अर्जुनधारा–६ का हनुमान सुनचाँदी पसल सञ्चालक धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार गंगाप्रसाद र महेश राजवंशी मिलेर चोरी गर्ने योजनाअनुसार वैशाख २६ गते विष्टको घरमा गएका थिए । विष्टको घरमा चोरी गर्ने क्रममा उनले होहल्ला गर्न थालेपछि ताला फुटाउन ल्याएको रडले हिर्काएर हत्या गरेको खुलेको छ ।
प्रहरीले घटनास्थलबाट ताला फुटाउन प्रयोग भएका फलामका उपकरण, सुनको औंठी, सुनको बाला, सुनको सिक्री, सुनको टप, सुनको जन्तर र चाँदीको कलश बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post