विराटनगर : विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बालभेला सुरु भएको छ ।
भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताए ।
उनले तत्कालीन गाउँ विकास समिति बुधनगर र झापाबैजनाथपुरलाई विराटनगरमा गाभेका कारण बालमैत्री महानगर बनाउन समस्या भएको उल्लेख गरे ।
उपहानगरपालिका हुँदा बालमैत्री नगर घोषणा गरिएपनि ग्रामीण क्षेत्रलाई समेटेर महानगरपालिका बनाएपछि घोषणामा समस्या देखिएको मेयर कोइरालाको भनाइ थियो । मेयर कोइरालाले बालबालिकाको हकहित र संरक्षणमा महानगरपालिका सधैं तयार रहेको प्रस्ट पारे ।
‘तपाईं बालबालिकाहरूले राम्रो काम गर्नुहोस् । राम्रो काम गर्दा महानगरले बजेटको अभाव हुन दिँदैन,’ मेयर कोइरालाले भने, ‘रातो किताबमै उल्लेख नभएपनि बजेटको अभाव हुन दिँदैनौं ।’
कार्यक्रममा वडा नम्बर १ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले बाल क्लबले देखिने गरी कुनै कार्य गर्न नसकेको भन्दै गुनासो गरे ।
वडाले बजेट छुट्याउँदा पनि वडास्तरको बालक्बले कुनै कार्यक्रम नगरेको उनको भनाइ थियो । ‘विगत एक वर्षदेखि बालक्बल एकदमै निस्कृय भएको छ,’ बस्नेतले भने, ‘केही समस्या छन् भने भन्नुप¥यो नत्र भने क्लबलाई सक्रिय बनाउनुप¥यो ।’
शनिबारसम्म सञ्चालन हुने भेलाले नयाँ बाल क्लब सञ्जालको पुनर्गठनसमेत गर्नेछ ।












Discussion about this post