इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति गैरसंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट नै सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
आज (मंगलबार) न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान रहेको तीन सदस्यीय पूर्ण इजलासले केदार कार्कीले दायर गरेको रिट खारेज गरिदिएको हो।
रिट खारेज गरेसँगै मुख्यमन्त्री हिक्मत कार्कीको मुख्यमन्त्री पद जोगिएको छ। पूर्ण इजलासले आइतबारदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गरेको थियो।
संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार कार्कीलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका थिए।
उपधारा ५ बमोजिमको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २७ वैशाख २०८० मा सर्वोच्चमा रिट लिएर पुगेका थिए।
सांसदको हैसियतमा दिएको समर्थन दलको ह्वीपको आधारमा फिर्ता नहुने दाबी केदार कार्कीको थियो।



















Discussion about this post