इटहरी : बिरामीको बढ्दो चाप, सीमित जनशक्ति र भौतिक पूर्वाधारको अभावजस्ता चुनौतीबीच अस्पतालले सेवा विस्तार र व्यवस्थापन सुधारका प्रयासलाई तीव्रता दिएको छ ।
बिरामीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले टिकट काउन्टर विस्तार, हेमोडायलाइसिस सेवा तीन सिफ्टमा सञ्चालन, ओपीडीको भीड व्यवस्थापन तथा दैनिक अनुगमनलाई प्राथमिकतामा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोष राईले यसअघि सञ्चालनमा रहेका दुईवटा टिकट काउन्टरलाई विस्तार गरी तीनवटा बनाएको जानकारी दिए । उनका अनुसार थप गरिएको काउन्टरबाट लक्षित वर्गका नागरिकलाई सेवा दिने व्यवस्था मिलाइएको छ ।
यससँगै दुईवटा बिलिङ काउन्टर र स्वास्थ्य बीमा स्क्यान गर्ने काउन्टरलाई पनि निरन्तरता दिइएको छ । टिकट लिन लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले काउन्टर विस्तार गरिएको डा. राईले बताए ।
त्यस्तै, मिर्गौला रोगीलाई नियमित उपचारमा सहजता ल्याउन हेमोडायलाइसिस सेवा तीन सिफ्टमा सञ्चालन गरिएको छ । गत कात्तिक १८ गतेदेखि तेस्रो सिफ्ट सुरु गरिएको उनले बताए । राईका अनुसार यसअघि दुई सिफ्टमा सञ्चालन हुँदै आएको सेवाबाट दैनिक २५ जना बिरामीले उपचार पाउँदै आएका थिए ।
तेस्रो सिफ्ट थपिएपछि थप ९ देखि १२ जना मिर्गौला रोगीले सेवा पाउने अपेक्षा गरिएको छ । यसले डायलाइसिसका लागि पालो कुर्नुपर्ने बिरामीको चाप कम गर्न सहयोग पुग्ने अस्पतालको विश्वास छ ।
खासगरी पछिल्लो समय बहिरङ्ग सेवा (ओपीडी) मा बिरामीको चाप क्रमशः बढ्दै गएपछि अस्पतालले भीड व्यवस्थापनका लागि एकद्वार प्रणाली लागू गरेको छ ।
अस्पतालभित्र बिरामीको आवतजावत व्यवस्थित गर्न ‘वान वे’ प्रणाली सुरु गरिएको हो । साथै, सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन आंशिक रूपमा आन्तरिक टोकन प्रणाली पनि सुरु गरिएको मेसु डा. राईले बताए ।
‘अस्पतालले फार्मेसी र मातृ तथा शिशु स्वास्थ्य सेवा (एमसीएच)लाई पुरानो म्याटरनिटी भवनमा स्थानान्तरण गर्ने तयारीसमेत अन्तिम चरणमा पुर्याएको छ,’ उनले भने, ‘स्त्रीरोगसम्बन्धी बहिरङ्ग सेवा (गाइने ओपीडी)लाई पनि सोही आसपासमा स्थानान्तरण गर्ने योजना छ ।’
सेवा प्रवाह हुने विभागलाई व्यवस्थित स्थानमा राख्दा बिरामीको आवागमन सहज हुने र ओपीडीमा हुने भीड व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अस्पतालभित्रका सेवा प्रवाहलाई प्रभावकारी बनाउन चिकित्सक र शाखाबीचको समन्वयमा पनि जोड दिइएको उनले बताए । यसका लागि हरेक दिन बिहान ९ देखि साढे ९ बजेसम्म चिकित्सक तथा शाखा प्रमुखबीच ‘मर्निङ कन्फरेन्स’ सञ्चालन हुँदै आएको छ ।
उक्त छलफलमा अघिल्लो २४ घण्टामा अस्पतालबाट प्रदान गरिएका सेवा, उपचारका क्रममा देखिएका समस्या र तिनको समाधानका उपायबारे समीक्षा गरिने मेसु राईले बताए ।
नियमित छलफलले अस्पतालका विभिन्न शाखाबीच समन्वय बढाउन र सेवा प्रवाहका क्रममा देखिएका समस्यालाई समयमै पहिचान गर्न सहयोग पुगेको उनको अनुभव छ । उपचार सेवा सञ्चालनका क्रममा एउटा शाखामा देखिएको समस्या अर्को शाखासँग सम्बन्धित हुन सक्ने भएकाले सामूहिक छलफललाई नियमित गरिएको हो ।
अस्पतालको सेवा गुणस्तर र सरसफाइ सुधारका लागि दैनिक अनुगमनलाई पनि निरन्तरता दिइएको छ । कार्यालय प्रमुखसहित प्रशासनिक टोलीले हरेक दिन बिहान साढे ९ देखि साढे १० बजेसम्म अस्पतालका विभिन्न शाखाको अनुगमन गर्दै आएको छ ।
अनुगमनका क्रममा कर्मचारीको उपस्थिति, सेवाग्राहीले समयमै सेवा पाए वा नपाएको अवस्था र शाखाहरूको सरसफाइबारे निरीक्षण गरिन्छ ।
यसबाट सेवा प्रवाहमा देखिएका कमजोरी तत्काल पहिचान गरी आवश्यक सुधार गर्न सहयोग पुगेको अस्पतालको भनाइ छ ।
अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापनलाई व्यवस्थित बनाउन ‘वेस्ट कलेक्सन’ भवनसमेत निर्माणाधीन अवस्थामा रहेको छ ।
अस्पतालजन्य फोहोरलाई उचित तरिकाले संकलन र व्यवस्थापन गर्ने उद्देश्यले उक्त भवन निर्माण भइरहेको हो ।
यसैबीच, अस्पतालले आगामी दिनमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने योजना पनि अघि सारेको छ । जनशक्तिको अभाव रहे पनि निकट भविष्यमै अक्सिजन प्लान्ट मर्मत गरी पुनः सञ्चालनमा ल्याउने र सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु गर्ने तयारी भइरहेको छ । आईसीयू सञ्चालनमा आएपछि गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमै थप उपचार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।
अस्पतालमा हाल उपलब्ध नभएका केही विशेषज्ञ सेवा पनि साझेदारीमा सञ्चालन गर्ने योजना बनाइएको छ । निजी–सरकारी साझेदारी अवधारणाअन्तर्गत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजसँग सहकार्य गरेर छालारोग, मानसिक रोग र क्यान्सरसम्बन्धी बहिरङ्ग सेवा सुरु गर्ने तयारी रहेको मेसु डा. राईले बताए ।
उनका अनुसार योजना कार्यान्वयन भएमा यी रोगका बिरामीले विशेषज्ञ परामर्शका लागि अन्यत्र धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अस्पतालको अपेक्षा छ । विशेषज्ञ चिकित्सकको सेवा मासिक रूपमा उपलब्ध गराउने गरी सहकार्य अघि बढाउने योजना अस्पताल प्रशासनको भनाइ छ
















Discussion about this post