विराटनगर : कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त हुँदा सरकारका संवैधानिक कामदेखि राजनीतिक नेतृत्व परिवर्तनको प्रक्रियासम्म प्रभावित भएको छ ।
पाँच वर्षे कार्यकाल पूरा गरेर परशुराम खापुङ पदमुक्त भएको १५ दिन बितिसक्दा पनि संघीय सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन ।
प्रदेश प्रमुख नहुँदा प्रदेश सरकारले अध्यादेश ल्याउने तयारीसमेत अघि बढाउन सकेको छैन । प्रदेशसभाको अधिवेशन नचलेको अवस्थामा तत्काल आवश्यक कानुन निर्माणका लागि अध्यादेशको विकल्प खोजिए पनि त्यसलाई जारी गर्ने संवैधानिक अधिकार प्रदेश प्रमुखमा रहेकाले सरकार अप्ठ्यारोमा परेको छ ।
यसैबीच सत्तारूढ नेकपा एमालेभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई परिवर्तन गर्ने विषयमा भइरहेको छलफल पनि प्रदेश प्रमुखको रिक्तताले थप अन्योलमा परेको छ ।
मुख्यमन्त्री नियुक्ति र शपथग्रहण गराउने संवैधानिक जिम्मेवारी प्रदेश प्रमुखकै भएकाले नेतृत्व परिवर्तनको निर्णय कार्यान्वयन गर्न पनि नयाँ नियुक्ति कुर्नुपर्ने अवस्था छ ।
एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले प्रदेश प्रमुख नहुँदा सरकारी काम प्रभावित भएको बताएका छन् । उता, राष्ट्रपति कार्यालयले भने नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्को सिफारिस प्राप्त नभएको जनाएको छ ।
संविधानले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म अर्को प्रदेशका प्रमुखलाई समेत जिम्मेवारी दिन सक्ने व्यवस्था गरे पनि त्यसतर्फसमेत प्रक्रिया अघि बढेको छैन । यसले कोशीमा प्रशासनिक कामभन्दा बढी संवैधानिक र राजनीतिक निर्णयको बाटो अवरुद्ध बनाएको छ ।
नेपालको संविधानको धारा १६३ को उपधारा (३) अनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । सोही व्यवस्थाअनुसार खापुङले २०७८ साल कात्तिक २५ गते नियुक्त भएर गत कात्तिक २४ गते पाँच वर्षे कार्यकाल पूरा गरेका हुन् ।
उनी पाँच वर्षको पूरा कार्यकाल बिताउने पहिलो प्रदेश प्रमुखसमेत हुन् ।















Discussion about this post