इटहरी : कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् । हाल सरकारमा रहेको माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी भइरहेको जनाइएको छ ।
केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेशमा पनि यसको असर पर्ने संकेत देखिएको हो ।
हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।
मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको जनाइएको छ । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले माओवादीका मन्त्रीहरूले राजीनामा दिने जनाए ।
उनले भने, ‘मुख्यमन्त्रीले आजै राजीनामा दिनू भनेर भन्नु भएको छैन । उहाँहरूले राष्ट्रिय परिस्थितिलाई हेरेर अनुकूल समयमा राजीनामा दिनुहोला ।’












Discussion about this post