इटहरी : इटहरीमा बेचिने उखुको जुसमा अखाद्य पदार्थ भेटिएपछि १४ जनालाई पक्राउ गरिएको छ ।
बिहीबार इटहरी उपमहानगरपालिकाले बजार अनुगमनको क्रममा उखुको जुसमा अखाद्य वस्तु फेला पारेसँगै १४ जनालाई पक्राउ गरिएको हो ।
इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण शाखाकी कर्मचारी अनु अर्यालका अनुसार अनुगमनको क्रममा उखुको जुसमा ‘आखाद्य केमिकल’ हालेर बेचेको पाइएपछि पक्राउ गरिएको हो ।
‘१८ वटा ठेलामा अनुगमन गरिएको थियो । ती मध्ये अखाद्य वस्तु बेचेको पाइएपछि १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छौँ,’ उनले भनिन्, ‘कृत्रिम तरिकाले उत्पादन गरिएको अखाद्य वस्तु हाल्दा शरीरलाई निकै हानी गर्छ ।’
बजार अनुगमनका क्रममा मानव स्वास्थ्यमाथि खेलवाड भइरहेको पाएपछि नियन्त्रणमा लिइएको उनले बताइन् । उनका अनुसार उखुमा हुने गुलियोको मात्राभन्दा धेरै गुलियो पाइएपछि उपमहानगरले अनुगमन गरेको थियो ।
इटहरी उपमहानगरले अनुगमन गर्न थालको सूचना पाएपछि कतिपय व्यापारीहरू भने ठेला छाडेर भागेको इटहरी नगर प्रहरी प्रमुख जेबी राईले बताए । उनका अनुसार छाडेर भागेका ११ वटा ठेला समेत नियन्त्रणमा लिइएको छ ।
यता इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले यसबारे उपमहानगरले नै कारबाही गर्ने बताए । ‘उनीहरूलाई के कारबाही हुन्छ भन्नेबारे उपमहानगरलाई नै थाहा हुन्छ,’ उनले भने, ‘आजको दिन त्यहीँ राख्नु भनेकाले हामीले राखेका हौँ ।’
यसबारे शुक्रबार थप अनुगमन गरी कारबाहीको प्रक्रिया अगाडि बढाइने मेयर हेमकर्ण पौडेलले बताए । ‘शुक्रबार गोदाममा अनुगमन गरेर थप अखाद्य वस्तु फेला परे बरामद गर्ने तयारी गरेका छौँ,’ मेयर पौडेलले भने ।
भिडियो














Discussion about this post