विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
विराटनगरमा निर्माण व्यवसायी संघ मोरङको साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति, नियम, कानून, कर्मचारीतन्त्र र कार्यसम्पादनमा भएका त्रुटिहरू सच्याएर निर्माण कार्यलाई व्यवस्थित बनाउन तयार रहेको बताए । उनले सबै पक्ष कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने औल्याउँदै प्रदेश सरकार पनि व्यवसायीसँग सहकार्य गर्न चाहेको बताए ।
उनले भने, “नयाँ सरकार बनेपछि आएको मौद्रिक नीतिले निर्माण व्यवसायीहरूमा आशा जगाएको मैले पाएको छु, निर्माण व्यवसायी र कानूनी अफ्ट्याराका कारण अझै पनि विकास निर्माणको काम दू्र्त गति र गुणस्तरीय हुन सकिरहेको छैन । यसले सरकारप्रति पनि वितृष्णा बढाउने काम गरेको छ ।”
मुख्यमन्त्री कार्कीले खरिद ऐन प्रकृयामा भएक त्रुटिमा आफ्नो ध्यान गएको र यसलाई सच्याउन संघीय सरकारलाई समेत दबाब दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सरकारले लगाएका ठेक्काहरूको भुक्तानी नरोक्ने मुख्यमन्त्री कार्कील बताए । प्रदेशले बनाएका कानुनमा केही त्रुटि भए त्यो आगामी हिउँदे अधिवेशनबाट समाधान गर्ने उनको भनाइ छ ।
गुणस्तरीय काम नहुँदा र ढिलासुस्तीले समग्र मुलुककै कार्यदक्षतामा प्रश्न उठ्न थालेकोले यस्तै अवस्था रहे मुलुक नै टाट पल्टिने चर्चा गरे । भने, “सबैले गम्भीर भएर समीक्षा गर्न जरुरी छ। प्रधानमन्त्रीज्युलेसमेत यसलाई गम्भीर रूपमा लिनुभएको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति ज्युले पनि समस्या समाधान गर्न तत्परता देखाइरहनुभएको छ । उहाँहरूलाई राखेर समस्याको हल गर्न म तयार छु ।”
कार्यक्रममा निर्माण व्यवसायी महासंघका महासचिव रवि सिंहले निर्माण व्यवसायीहरूको समस्याका विषयमा जानकारी गराएका थिए । सार्वजनिक खरिद ऐन, कर्मचारीतन्त्र र सरकार, भुक्तानीमा ढिलाई लगायतका समस्याले निर्माण व्यवसायीहरू गम्भीर अवस्थामा पुगेको उनको भनाइ छ ।
कार्यक्रममा निर्माण व्यवसायीहरूलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको निर्माण व्यवसायी संघ मोरङका सचिव राधेश्याम कट्टलले जानकारी दिए ।












Discussion about this post