विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।
शनिबार २४ औं राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौं ।’
प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारको सोचाई रहेको चर्चा गर्दै उनले स्वास्थ्य ऐनमार्फत प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने उनको भनाइ छ ।
नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालका सुधार र व्यवस्थापकीय क्षमतालाई बढाएर काम गर्नुपर्ने कार्कीको भनाइ छ ।
सम्मेलनमा देशभरका करिब तीन सय दन्त चिकित्सक भेला भएका छन् । १६ जना वरिष्ठ दन्त चिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुति गर्ने तयारी छ ।
सम्मेलनबाट आगामी दिनमा गर्न सकिने काम, नयाँ प्रविधि र आम नागरिकलाई सचेतना जोगाउने विषयमा साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केसस्टडी’ का विषयमा छलफल हुने आयोजकले जनाएको छ ।












Discussion about this post