विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
सरकारीस्तर र निजीस्तरबाट थुप्रै जीवन उपयोगी तालिम सञ्चालन हुने गरेको बताउँदै मेयर कोइरालाले तर त्यसको उपलब्धि भने एकदमै न्यून हुने गरेको जिकिर गरे ।
नेपाल ट्रेड युनियन कांग्रेस र जिलाफको संयुक्त आयोजनामा भएको जीवन उपयोगी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहेका कोइरालाले जीवन उपयोगी तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘विराटनगर महानगरपालिकासहित सबै स्थानीय तह र अन्य संघसंस्थाले विभिन्न तालिम दिने गरेका छन्,’ कोइरालाले भने, ‘मलाई लाग्छ हरेक व्यक्तिले तालिम लिइसकेको हुनुपर्ने हो । तर तालिम लिइसकेपछिको उपलब्धि भने एकदमै कम हुनु गरेको छ ।’
सीप सिक्दा जीवनमा कुनै न कुनै दिन काम लाग्ने उहाँको भनाइ थियो । उनले महानगरपालिकाले पनि जीवन उपयोगी विभिन्न तालिम दिने गरेको जानकारी दिए ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्की, महासचिव अजयकुमार राई, उपमहासचिव देवदत्त बडु, रुक्मिणी थापा, मोरङ अध्यक्ष सुशील कोइराला, सचिव मदन बराल, जिलाफ नेपालका प्रतिनिधि लक्ष्मण शाहीलगायतले जीवन उपयोग तालिमको महत्व र उपादेयताका विषयमा प्रकाश पारे ।
तालिममा मोरङका विभिन्न स्थानका ५० जना सहभागी भएको जिल्ला अध्यक्ष कोइरालाले जानकारी दिए ।














Discussion about this post