दमक : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
इलामको चुलाचुली गाउँपालिकाको चपेटीमा नेकपा एमाले दमक नगर कमिटीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सहकारीको अरबौँ रकम लुट्नेहरूले देशको सिस्टमलाई नै च्यालेन्ज गरिरहेको बताए।
उनले भने, ‘जनताले आधा पेट खाएर सहकारी जम्मा गरेको रकम लुट्न कुनै लुटेरालाई छुट छैन सबै कानुनको दायरा आउनुपर्छ ।’
सहकारीको रकम हिनामिना र ठगीमा एमाले, काँग्रेस वा रास्वपा अन्य कोही भएपनि छोड्न नहुने उनको जिकिर छ ।
देशमा राजनीतिक समस्याहरू आएको, लोकतान्त्रिक शासन प्रणाली, कानुनी राज र संविधानको सर्वोच्चतामाथि हस्तक्षेप गर्ने र सिस्टममाथि नै कालो पोत्ने प्रयासहरू भइरहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले त्यसलाई अन्त्य गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको माध्यमबाट लाग्नुपर्ने बताए ।
यही कारण नै दुई ठूला दलहरू मिलेर संघदेखि प्रदेशसम्म सरकार गठन गरेको उनले बताए । उनले भने, ‘लोकतन्त्र, सुशासन र लोकतन्त्रविरुद्धका गतिविधिलाई परास्त गर्न अहिलेको गठबन्धन बनेको हो ।’
उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाउँदै विभिन्न लान्छान लगाउने काम भइरहेको भन्दै उनले देशका सबै नेताहरूका सम्पत्ति छानबिन गर्न चुनौती दिए ।











Discussion about this post