विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल दुई दिनदेखि पाँच दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् ।
उनले प्रदेश सरकारको अर्थिक वर्ष २०८१–८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा निर्देशन दिँदै सहमतिका लागि गएको फाइलहरू अड्किँदा काम ढिलो भएको बताए । समीक्षा कार्यक्रममा उनले जेठ १५ गते भित्र अन्तरक्रिया गोष्ठीजस्ता कार्यक्रमहरू सक्नका लागि निर्देशन दिए ।
जेठको अन्तिम लागेपछि कार्यक्रममा जानको लागि हैरान हुन्छ । दिनमा तीन चारवटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन । र, जनताले पनि पचाएका छैनन्, कार्कीले भने, यस्तो काम रोक्नेगरी अघि बढ्नपर्छ ।
सातामा तीनदेखि चार दिन मन्त्री र सचिवलाई सँगै बसेर मन्त्रालयको काम गर्न पनि उनले आग्रह गरे । पर्फमेन्स देखाउँ र प्रभावकारी रूपमा काम गरौँ । मुख्यमन्त्री कार्कीले भने, ‘हाम्रो नीति, कार्यक्रम तथा बजेट खर्चको अवस्था अहिलेसम्म सन्तोषजनक छैन । पफर्मेन्स गर्न लागौँ, बेरुजू फच्र्र्यौट र शासकीय सुधारलाई पहिलो स्थानमा राखेर काम गरौँ ।’
सरकारले गरेका सन्धी, सम्झौता, दीगो विकासका लक्ष्य लगायतलाई ध्यान दिएर मानवीय विकासमा काम गर्न पर्ने अवस्था रहेकोसमेत उनले औँल्याए ।
आगामी माघ ७ गतेदेखि सुरु हुने प्रदेश सभाको अधिवेशनमा नयाँ विधेयक र संशोधन गर्नुपर्ने ऐनपनि छिटो पेश गर्ने गरी तयारी गर्न मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई निर्देशन दिए ।
प्रदेश सभामा मन्त्रालयका विषयमा उठेका विषयहरू सम्बन्धित मन्त्रीले ढिलोमा एक साताभित्र जवाफ दिने गरी तयारी गर्नसमेत उनले आग्रह गरे । प्रदेश सभालाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सबै लाग्नुपर्ने बताउँदै उनले भने, ‘२०७७ सालपछिको सबै भन्दा प्रभावकारी र राम्रो यही अधिवेशन हुनेछ । त्यसतर्फ लागौँ ।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले ऐन र नियमावलीमार्फत काम गर्नुपर्ने बताउँदै कार्यविधि र निर्देशिकाबाट काम गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्ने गरी अघि बढ्ने बताए ।
प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयहरूले समयसीमा अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
‘एकैपटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने कुरा ठीक भएन । पुँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नुपर्छ,’ उनले भने, ‘यसमा मन्त्रालयहरूले ध्यान दिन जरूरी छ ।’













Discussion about this post