ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका १० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो।
सो घटनामा परी चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए। गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।
दुई पुरुष र दुई महिला गरी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरू आमा छोरा हुन् । आमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गाडीमा ६ जना रहेको र अन्य घाइते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उनका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी १६ वर्षीया आध्या आचार्य, झापा जिल्लाका ६९ वर्षीया सरिता पौडेल, झापाकै ७० वर्षीय विनोद पौडेल रहेको प्रहरीले जनाएको छ।
पाथीभरा दर्शनका लागि आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुगेका उनीहरू होटेल प्यारिजमा बसेर सोमबार (आज) बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि हिँडेका थिए ।














Discussion about this post