खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आर्थिक अनुशासनको गम्भीर उल्लंघन भएको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको छ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०।८१ मा मृत्यु भइसकेका १६ जनाको नाममा ३ लाख ७ हजार ६२५ रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा गरिएको छ।
यसैगरी, पेट्रोल खरिदमा नेपाल आयल निगमबाट अनुमति नपाएको फर्मसँग दरभन्दा ३० रुपैयाँ बढीमा खरिद गरिएको देखिएको छ।
३ लाख ४९ हजार रुपैयाँ बराबरको पेट्रोल खरिद गरिएको भए पनि, सवारी प्रयोग, लगबुक, दूरी आदिको कुनै प्रमाण नभएको भन्दै प्रतिवेदनले इन्धन शीर्षकमा भएको २८ लाख १० हजार रुपैयाँ खर्च वास्तविक नदेखिएको उल्लेख गरेको छ।
प्रतिवेदनमा ५३ लाख ११ हजार रुपैयाँ बराबरको औषधि खरिद प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाविना सिधै गरिएको, ७४ लाख ९६ हजार रुपैयाँ बराबरको वस्तु वा सेवा सिधै खरिद गरिएको र मितव्ययी नअपनाइ एकै बोलपत्र मूल्यांकन गर्न २५ वटा बैठक राखेर अनावश्यक भत्ता वितरण गरिएको गुनासो गरिएको छ।
गाउँपालिकाले भ्रमण प्रतिवेदन तयार नगरी, अनुगमन नगरी, लकबुक नराखी अनियमित रूपमा इन्धन र भत्ता खर्च गरेको, र केवल खाजा तथा खानामा १६ लाख ३६ हजार रुपैयाँ खर्च भएको देखिएको छ।
स्थानीय पाठ्यक्रम निर्माण र शैक्षिक पात्रो प्रकाशनमा समेत ७ लाख ४६ हजार रुपैयाँ नियम विपरीत खर्च भएको, कोटेसन बिनै मल ढुवानीमा १२ लाख रुपैयाँ भुक्तानी गरिएको, कृषकलाई वितरण भएको प्रमाण नरहेको जस्ता विषय प्रतिवेदनमा औंल्याइएको छ।














Discussion about this post