इटहरी : “अबको युद्ध, दुर्व्यसन विरुद्ध” भन्ने सन्देशका साथ लागूऔषध तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहीबार सुनसरीको इनरुवामा एक कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र फ्यान जिल्ला कार्यसम्पादन समिति सुनसरीको आयोजनामा तथा इनरुवा नगरपालिकाको सहकार्यमा भएको कार्यक्रम जिल्ला प्रहरी कार्यालयबाट प्रभातफेरीका रूपमा सुरु भई वडा नं. ३ स्थित ओम साई पार्टी प्यालेसमा समापन भएको हो।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथि, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्की अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी विशिष्ट अतिथिको रूपमा सहभागी रहेका थिए।
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा सुनसरी जिल्लाका सीमा क्षेत्रका प्रहरी इकाइहरूबाट गठन भएका स्वयमसेवकहरूलाई प्रशंसा पत्र र टिसर्ट वितरण गरिएको थियो। लागूऔषध विरुद्धको सामाजिक उत्तरदायित्वमा युवाहरूको सक्रिय सहभागितालाई यो सम्मानमार्फत प्रोत्साहित गरिएको आयोजकको भनाइ छ।
कार्यक्रम अन्तर्गत “लागूऔषध नियन्त्रणमा प्रहरी र समाजको भूमिका” विषयक अन्तरक्रिया तथा जनचेतनामूलक प्रस्तुतिहरूसमेत गरियो ।
युवाहरूलाई नशा तथा दुर्व्यसनबाट जोगाउने लक्ष्यसहित उक्त कार्यक्रमलाई आगामी दिनमासमेत अझ प्रभावकारी बनाइने सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post