इटहरी : नेपाल पत्रकार महासंघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेललाई बुधबार ज्ञापन पत्र बुझाएको छ ।
मेयर पौडेलले गत शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकारहरूले दानापानी नपाएर समाचार लेख्ने गरेको आरोप लगाएका थिए ।
उनले लेखेका थिए, “भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिले हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा।”
मेयर पौडेलले समग्र पत्रकारिता क्षेत्रमै अपमानित हुनेगरी लाञ्छना लगाएको उदृत गर्दै महासंघले आरोप प्रमाणित गर्नसमेत चुनौती दिएको छ । यदि, आरोप प्रमाणित भए महासंघले कानुन बमोजिम कारबाही गर्ने बताउँदै बुधबार मेयर पौडेललाई ज्ञापन पत्र बुझाइएको हो ।
महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेद्धारा हस्ताक्षरित पत्रअनुसार मेयर पौडेलको उक्त अभिव्यक्तिले समग्र प्रेस स्वतन्त्रता र पत्रकारको गरिमाविपरीतको कार्य भएको ठहर गरेको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार भएकाले नगर प्रमुखको जिम्मेवारी अझै बढी हुनेसमेत उदृत गरियो ।
ज्ञापन पत्र बुझ्दै मेयर पौडेलले आफूले सबै पत्रकारितालाई आरोप नलगाएको तर केही पत्रकारका कारण आफू पीडित भएको बताए ।
‘पत्रकारिता क्षेत्र र यहाँ उपस्थित केही पत्रकारहरूकै कारण पनि आजको यो व्यवस्था छ,’ उनले ज्ञापन पत्र बुझ्दै भने, ‘मैले समग्र पत्रकारिता क्षेत्रलाई नभई केही व्यक्तिका कारण पीडित भएकाले सामाजिक सञ्जालमा लेख्न बाध्य भएको हुँ । अब संस्थागत रूपमा बसेर यो घटनाको छानबिन हुनुपर्छ ।’
उनले आफूलाई समाचारको नाममा बार्गेनिङ गर्ने पत्रकारलाई महासंघले कारबाही गर्नुपर्ने जिकिर गरे । यद्यपि, आफ्नो अभिव्यक्तिले सबै पत्रकारलाई आघात परेकोमा उनले आफूसमेत दुःखी भएको उदृत गरे ।













Discussion about this post