इटहरी : इटहरी २० तरहरास्थित चारकोसे क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
शुक्रबार (आज) बिहान ९ः३० बजेतिर चारकोसे क्षेत्रमा धरानतफै जाँदै गरेको प्रदेश २-०१-००३ प २७२८ मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा सिरहा ८ बस्ने ५० वर्षीय विमल साह रहेका छन् ।
तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) टीका नेपालका अनुसार घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएपनि उपचारको क्रममा उनको दिउँसो १२ बजे मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदाँ साहको टाउकोमा गम्भीर चोट लागेको थियाे ।
साह उपचारकै लागि फलोअपमा गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनी सुगरका बिरामी रहेको र उपचारकै लागि बीपी प्रतिष्ठान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको भएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खासगरी चारकोसे क्षेत्रमा खानेपानीको ट्यांकी रहेको छ। सोही ट्यांकीका कारण कहाँ आइपुग्यो भनेर चिनिन्छ। जसमा अधिकांश दुर्घटना भनेको तीन ट्यांकी आसपास हुने गरेको छ ।
‘चारकोसे क्षेत्रमा रहेका तीन र चार ट्यांकीको बीचमा अधिकांश दुर्घटना हुने गरेको छ,’ नेपालले भने, ‘केही समयअघि पनि कार, मोटरसाइकललगायतका सवारी साधन आफैँ अनियन्त्रित भएर सो क्षेत्रमा दुर्घटना भएका छन् । यस क्षेत्रमा सवारी साधन चलाउँदा धेरै ख्याल गर्नुपर्छ ।’














Discussion about this post