इटहरी : विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको महिला सेलभित्र एक महिला कैदी मृत फेला परेकी छन्।
बुधबार बिहान करिब ४ः३० बजे ३२ वर्षीया राधा भट्टराई (राधिका( शौचालयमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जेलर गौरव ढुंगेलले जानकारी दिए।
ढोका भित्रैबाट चुक्कुल लगाइएकाले घटनालाई आत्महत्या नै देखिने अनुमान गरिएको छ। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।
भट्टराईलाई पहिलादेखि नै ‘डिप्रेसन’को समस्या रहेको कारागार स्रोतले जनाएको छ।
उनी २०८१ माघको पहिलो साता आफ्ना दुई सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन्। घटनापछि पक्राउ परेकी भट्टराईमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
सुनसरी जिल्ला अदालतले थुनामा राखी पुर्पक्ष आदेश दिएपछि उनलाई कारागार चलान गरिएको थियो। २०८१ साल कात्तिक ७ गते अदालतले भट्टराईलाई जन्मकैद (२५ वर्ष) को सजाय सुनाएको थियो।
कारागारका अनुसार हाल मोरङ कारागारमा आश्रित बालबालकसहित १०७ जना महिला कैदीबन्दी छन्। भट्टराईसहित संख्या १०८ पुगेकोमा अब १०७ जना भएका छन्।
जेल प्रशासनले आफन्तलाई जानकारी गराइसकेको र पोस्टमार्टमका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post