इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सरोज खनाल, इलाका प्रहरी कार्यालय दोहमना मोरङमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु पराजुली र प्रहरी जवान समीप सुब्बालाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो।
उनीहरूले मोरङ, सुनसरी र झापामा भएका ट्रान्सफर्मर चोरी घटनाको अनुसन्धान गर्दै उल्लेखनीय सफलता हासिल गरेका थिए।
नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय रानी, विराटनगरसँगको सहकार्यमा प्रहरी टोलीले माघ १५ गतेदेखि चोरी भएका २४ वटा ट्रान्सफर्मर प्रकरणमा अनुसन्धान अघि बढाएको थियो।
सो क्रममा प्रहरीले साउन ९ गतेसम्म चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी, ट्रान्सफर्मर काट्न प्रयोग भएका विभिन्न औजार, चोरीबाट निकालिएको ३६८ किलो ५ सय ग्राम तामाको तार, को १ च ७७२९ नम्बरको पिकअप गाडी, विभिन्न कम्पनीका ५ थान मोटरसाइकल र १२ थान मोबाइल फोन समेत बरामद गर्न सफल भएको थियो।
उक्त कार्यले आम नागरिकमा शान्ति–सुरक्षाप्रति विश्वास बढाएको भन्दै चारै जना सुरक्षाकर्मीलाई ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित गरी पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ।














Discussion about this post