इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल सात दिनभित्र टुंग्याउन निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०८१।८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले राय–परामर्शसहितका सबै खाले फाइल सात दिनभित्र किनारा लगाउन नसक्ने अवस्था आए कारणसहित सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने बताए।
उनले फाइल अड्काउने प्रवृत्ति राम्रो नभएको भन्दै यसमा सुधार गर्न निर्देशन दिए।
मुख्यमन्त्री कार्कीले बेरुजु फर्छ्यौटका विषयमा कडा हुँदै लिखित अनुरोधका आधारमा मात्र फर्छ्यौट गर्न र त्यसो नभए कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले नीतिगत र असुलउपर गर्नुपर्ने बेरुजु छुट्याएर पुष मसान्तभित्र किनारा लगाउन कर्मचारीलाई निर्देशन दिए।
सुशासनलाई प्राथमिकतामा राख्दै उनले गुनासो सुनुवाइ शतप्रतिशत सुनिश्चित गर्न, प्रशासनिक काम जनताले प्रत्यक्ष देख्ने गरी छिटोछरितो ढंगले सम्पन्न गर्न र नीतिगत–प्रशासनिक कार्यान्वयनमा ढिलाइ नगर्न निर्देशन दिए।
प्रदेश सरकारले सुरु गरेका उदय परियोजना, ब्याज अनुदान कार्यक्रम, पर्यटन वर्ष, पदमार्ग आधारित पर्यटन विकास र लगानी सम्मेलनमार्फत आएका योजनालाई प्राथमिकतामा राखेर अघि बढाउन उनले सम्बन्धित निकायलाई आग्रह गरे। साथै, अधुरा वा अलपत्र योजनाको विवरण तत्काल संकलन गरी कार्यान्वयनमा ल्याउनुपर्ने उनले जोड दिए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका मात्र होइन, संघीय सरकारले प्रदेशमा सञ्चालन गरिरहेका काममा पनि समन्वय बढाएर नागरिकलाई सेवा दिनुपर्ने बताए।
कार्यक्रममा प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फर्छ्यौट, ओएनएम सर्वे, राजस्व कानुन कार्यान्वयनलगायत विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।












Discussion about this post