ताप्लेजुङ : जेन–जी आन्दोलनको नाममा ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा क्षेत्रमा तोडफोड र आगजनी भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार आन्दोलन सकिएको भोलिपल्ट भदौ २५ गते राति पवित्र स्थलका संरचनामा आक्रमण गरिएको हो।
समितिका अध्यक्ष रक्की थेबेले तीर्थालुका लागि निर्माण गरिएका हेल्थ डेस्क, हेल्प डेस्क र रेस्क्यु हाउसमा आगो लगाइएको बताए।
उनका अनुसार करिब साढे ३ करोड रुपैयाँ लागतमा पर्यटन विभागको सहयोगमा बनेका ती संरचना करिब दुई वर्ष पुराना मात्र थिए।
उनले पाथीभरा केबलकारका विरोधी तथा अराजक समूहले यस्ता गतिविधि गरेको दाबी गर्दै तत्काल कानुनी कारबाहीको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख वेदप्रसाद गौतमले नागरिक सहायता कक्षसहित तीनवटा संरचनामा तोडफोड र आगजनी भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।














Discussion about this post