इटहरी : पछिल्ला राजनीतिक घटनाक्रम र आन्तरिक असन्तुष्टि बढ्न थालेको पृष्ठभूमिमा नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आन्तरिक अनुशासन कडाइ गर्न थालेको छ।
मङ्सिर १ गते सम्पन्न प्रदेश कमिटीको नवौँ पूर्ण बैठकले अनुशासन उल्लंघन गर्ने नेतामाथि कारबाही गरेको छ ।
खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध अभिव्यक्ति दिएको भन्दै इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीलाई कारबाही गरेको छ ।
सामाजिक सञ्जाल र मिडियामा ओलीविरूद्ध अभिव्यक्ति दिँदै असन्तुष्टि फैलाएको भन्दै उननलाई ६ महिनाका लागि सदस्यता निलम्बन गरिएको हो ।
पटक–पटक सम्झाउँदासमेत चौधरीले आफ्नो कार्यशैलीमा सुधार नल्याएको भन्दै कारबाही गर्नुपरेको एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
यसैगरी इटहरी निवासी प्रा.डा. बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई सार्वजनिक रूपमा पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको छ। पोखरेलले पनि ओलीको आलोचना गर्दै आएका छन् ।
दंगाल भने विद्या भण्डारीको पक्षमा खुलेरै लागेपछि स्पष्टीकरण सोधिएको बुझिएको छ ।
उता, झापाका मनोरथ तिवारीलाई पार्टीविरोधी कार्यका कारण र ध्रुब शिवाकोटीलाई अदालतबाट फौजदारी सजाय भएका कारण पदमुक्त गरिएको छ।
खासगरी शिवाकोटीले आफ्नै धर्म छोरीलाई बलात्कार गरेको आरोप लागेपनि पार्टीले संरक्षण गर्दै आएको थियो ।













Discussion about this post