झापा : जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी झापा बाह्रदशी गाउँपालिका–१ बोक्राझारीकी ५० वर्षीया लीला राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब १ बजे बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
गत फागुन ७ गते बिहान लीला राजवंशीले आफ्नै पक्की घर निर्माणका क्रममा पानी हालिरहेका बेला लक्ष्मीनाथ सामुदायिक वन, भागुडुब्बाबाट आएको जङ्गली हात्तीले अचानक आक्रमण गरेको थियो। आक्रमणबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएको थियो। उपचारकै क्रममा सोमबार राति उनको ज्यान गएको प्रहरीले जनाएको छ।
झापामा लामो समयदेखि मानव–हात्ती द्वन्द्व बढ्दो क्रममा रहेको छ। वन क्षेत्र नजिकका बस्तीमा जङ्गली हात्ती प्रवेश गर्ने घटना दोहोरिँदा मानवीय क्षति हुने क्रम जारी रहेको स्थानीयहरूले बताएका छन्।















Discussion about this post