मोरङ : मोरङको कटहरी गाउँपालिका–३, हुलाकी सडक खण्डमा सवारी जाँचका क्रममा स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय रुपैयाँ बरामद भएको छ।
रकम ओसारपसारमा प्रयोग भएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार प्रदेश १–०२–००२ च ६६१० नम्बरको टाटा योद्धा पिकअपलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा नगद फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको टोलीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको गाडी रोकेर जाँच गरेको थियो।
प्रहरीले बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने प्रारम्भिक आशंका गरेको छ।
स्रोत पुष्टि हुन नसकेपछि गाडीसहित चालक, जहदा गाउँपालिका–२ का २४ वर्षीय विशाल टुडूलाई नियन्त्रणमा राखिएको छ।
सुरक्षा निकायका अनुसार निर्वाचन नजिकिँदै गर्दा निगरानी कडा पारिएको छ। नगद ओसारपसार, अवैध कारोबार तथा शंकास्पद गतिविधि रोक्न मध्यराति पनि चेकजाँच तीव्र पारिएको प्रहरीले जनाएको छ।














Discussion about this post