इटहरी : सुनसरीमा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। इटहरी र इनरुवामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्प क्षेत्रबाट शंकास्पद रूपमा बसिरहेका धरान उपमहानगरपालिका–२० का ३३ वर्षीय अर्जुन राईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनको शरीर खानतलासी गर्दा ब्राउनसुगर १.४ ग्राम फेला परेको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान सुरु गरिएको छ।
त्यसैगरी इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा गरिएको चेकजाँचका क्रममा थप दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले लौकहीबाट पकलीतर्फ जाँदै गरेको को ३१ प ३२५५ नम्बरको मोटरसाइकल जाँच गर्दा पछाडि सवार इटहरी–१७ का २९ वर्षीय सिद्धार्थ चौधरीको साथबाट ३५।२६ ग्राम ब्राउनसुगर फेला परेको थियो।
घटनामा मोटरसाइकल चालक इटहरी–१८ का २९ वर्षीय जेम्स राईलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ।














Discussion about this post