इटहरी : झापा र सुनसरीबाट लागूऔषध ब्राउनसुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको दमक नगरपालिका–५ मा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही स्थानका मोहन यादव र गौरीगञ्ज गाउँपालिका–१ का प्रवेश राईलाई ८ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
त्यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट मे ६ प ७७२६ नम्बरको मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–७ का लाखबहादुर योङहाङलाई २ ग्राम १५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
यता, सुनसरीको कोशी गाउँपालिका–१ बाट इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–०५३ प ५८२१ नम्बरको मोटरसाइकल चालक दुहवी–२ का सुशान्त चौधरी र पछाडि सवार दुहवी–१० का मेराज चौधरीलाई ८ ग्राम ११० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
त्यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–६ बाट मोरङ कानेपोखरी गाउँपालिका–७ का सुरेन्द्र जिमीलाई ६ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post