इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र समानुपातिक सांसदको बन्दसूची सार्वजनिक भएसँगै समावेशिता, भूगोल र योगदानको मूल्याङ्कनबारे बहस चर्किएको छ।
कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ (सरिन)ले पार्टीले सिफारिस गरेको सूचीमा क्षेत्रीय सन्तुलन र जातीय क्लस्टरको समुचित प्रतिनिधित्व नभएको भन्दै सार्वजनिक असन्तुष्टि व्यक्त गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले कोशी प्रदेशको भौगोलिक बनोटलाई ध्यानमा राख्दै पहाडी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सुझाव आफूले यसअघि नै दिएको भए पनि त्यसलाई बेवास्ता गरिएको बताएकी छन्।
तामाङले संगठन निर्माणमा लामो समयदेखि सक्रिय र योगदान दिएका व्यक्तिहरूलाई सूचीबाट बाहिर राखिएको भन्दै नेतृत्वको निर्णय प्रक्रियामाथि प्रश्न उठाएकी छन्।
‘पार्टी निर्माणमा रगत–पसिना बगाउने र भूगोल बुझेका व्यक्तिहरूभन्दा केन्द्रीय नेताहरूको निकट रहेकाहरूलाई प्राथमिकता दिइयो,’ तामाङले भनिन्, ‘निर्णय प्रक्रिया शक्ति केन्द्रको वरिपरि मात्रै सीमित हुँदा आवश्यक सन्तुलन कायम हुन सकेन।’
उनका अनुसार ओखलढुङ्गाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई तथा ताप्लेजुङकी मीरा लाबुङजस्ता व्यक्तित्वहरूलाई सूचीमा समेट्न नसक्नु पार्टीका लागि अवसर गुमाउनु सरह भएको छ।
उनले केन्द्रीय नेतृत्वसँग निकट मानिने व्यक्तिहरूलाई प्राथमिकता दिइँदा भूगोल र समावेशिताको सन्तुलन कमजोर बनेको आरोप लगाएकी छन्।
लामो समयदेखि संगठनमा सक्रिय कार्यकर्तालाई उपेक्षा गर्दा पार्टीको सांगठनिक संरचना र कार्यकर्ताको मनोबलमा असर पर्न सक्ने चेतावनीसमेत उनले दिएकी छन्।
२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार बनेकी उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थिइन्।
रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनामाथि अनुशासनात्मक कारबाही भएपछि उनी हाल कोशी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्।














Discussion about this post