झापा : झापाको भद्रपुर नगरपालिका–५ र ६ नम्बर वडाबाट लागूऔषध ब्राउनसुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर तथा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भद्रपुर–६ बाट ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानका ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशी पक्राउ परेका छन्।
यस्तै, भद्रपुर–५ स्थित बसपार्क क्षेत्रबाट १० ग्राम २०० मिलिग्राम ब्राउनसुगरसहित ३० वर्षीय सुभम साह, भद्रपुर–४ का ३० वर्षीय जयकरण कहार, भद्रपुर–६ का ३५ वर्षीय दुलाल सेख र २९ वर्षीय मोहम्मद अमिर बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post