विराटनगर : सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको अभियोगमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ३७ वर्षीय कमल कुमार स्वर्णकार रहेका छन्।
प्रहरीका अनुसार, विराटनगरस्थित यातायात कार्यालय परिसरमा लेखापढीको काम गर्दै आएका स्वर्णकारले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने भन्दै सरकारी छाप र छैटौं तहका अधिकृतको दस्तखत किर्ते गरेका थिए। उक्त कार्यमा संलग्न रहेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदा अन्य व्यक्तिहरूले राजस्व तिर्न दिएका सवारी दर्ता किताबहरूमा समेत स्वर्णकारले किर्ते गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। उनलाई यातायात कार्यालय परिसरबाटै पक्राउ गरिएको थियो।
प्रहरीले स्वर्णकारको घरमा खानतलासी गर्दा ११ थान सवारी दर्ता किताबहरू समेत बरामद गरेको जनाएको छ। यसबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले घटनामा थप अनुसन्धान भइरहेको बताएका छन्।
हाल स्वर्णकारमाथि मोरङ जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले स्वर्णकारलाई सवारी दर्ता किताब नवीकरणका लागि दिएका सेवाग्राहीहरूलाई ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ।
















Discussion about this post