बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
मंगलबार साँझ करिब ५ बजेतिर इलाका प्रहरी कार्यालय चतराबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चतराबाट तेह्रआर्डीतर्फ जाँदै गरेको बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सले प्रहरी टोली देख्नासाथ भाग्ने प्रयास गरेपछि पछ्याएर नियन्त्रणमा लिइएको थियो।
चेकजाँचका क्रममा एम्बुलेन्सभित्र प्लास्टिकको बोरामा लुकाएर राखिएको १४८ किलो गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भारत, बिहार राज्य सुपोल जिल्ला बिरपुर बस्ने १८ वर्षीय धर्मेन्द्र कुमार यादव (एम्बुलेन्स चालक) र २१ वर्षीय मोहम्मद सदामलाई पक्राउ गरिएको छ।
बरामद गाँजा र एम्बुलेन्ससहित दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post