इटहरी : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने दाबी सार्वजनिक गरेपछि सत्ता गठबन्धनभित्रको शक्ति समीकरण फेरि चर्चामा आएको छ।
सुनसरीको लौकहीमा शुक्रबार आयोजित कार्यक्रममा शर्माले अब कोशी प्रदेशको नेतृत्व कांग्रेसले गर्ने भन्दै राजनीतिक सन्देश दिएका हुन्। उनले धेरै खुलाउन नचाहे पनि नेतृत्व परिवर्तन अब टाढाको विषय नरहेको संकेत गरे।
हाल नेपाली कांग्रेस चार मन्त्रालयसहित प्रदेश सरकारमा सहभागी भए पनि नेतृत्व भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग छ। स्पष्ट बहुमत नहुँदा केन्द्रदेखि प्रदेशसम्म आलोपालो नेतृत्वको सहमतिमा गठबन्धन सरकार सञ्चालन भइरहेका बेला कोशीमा भने नेतृत्व हस्तान्तरणको विषय पेचिलो बनेको छ।
कांग्रेस स्रोतका अनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे छलफल गर्न शर्मालाई नै जिम्मेवारी दिइएको थियो। त्यसक्रममा उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सँग पटक–पटक संवाद गरिसकेका छन्।
अन्य प्रदेशमा सहमतिको आधारमा समीकरण मिलाउन सहज भए पनि कोशीमा दुवै दलले मुख्यमन्त्री पद नछाड्ने अडान लिँदा सहमति टुंगोमा पुग्न सकेको छैन।
एमाले अध्यक्ष ओलीले आफ्नो गृहप्रदेश भएकाले नेतृत्व कायम राख्न चाहेको चर्चा चलिरहँदा शर्माको सार्वजनिक अभिव्यक्ति अर्थपूर्ण मानिएको छ।
यसबीच कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भएको छलफलमा पनि कोशी सरकारको नेतृत्व मुख्य एजेण्डा बनेको बताइएको छ।














Discussion about this post