इटहरी : इटहरीमा बहुविशेषज्ञ अस्पताल निर्माणको माग उठिरहे पनि सरोकारवालाहरूले स्वास्थ्य क्षेत्रको मुख्य समस्या नयाँ भवन नभई विद्यमान सेवाको कमजोर व्यवस्थापन र गुणस्तर भएको निष्कर्ष निकालेका छन्।
लायन्स क्लब अफ इटहरी र ‘योगदान राष्ट्रका लागि’ संस्थाले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरूले इटहरी अस्पतालको सेवा प्रवाह, उपकरण सञ्चालन, औषधि उपलब्धता, स्वास्थ्य बीमा कार्यान्वयन तथा जनशक्ति व्यवस्थापनमा गम्भीर कमजोरी रहेको औँल्याएका हुन्।
छलफलमा वक्ताहरूले अस्पतालमा उपलब्ध उपकरणसमेत प्रयोगविहीन अवस्थामा रहेको, एक्स–रे मेसिन लामो समयसम्म बिग्रिएर थन्किएको, डायलाइसिस सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको तथा आधारभूत औषधिसमेत अभाव हुने गरेको गुनासो गरे।
कतिपयले नयाँ अस्पताल खोल्नुभन्दा पहिले अहिलेका स्वास्थ्य संस्थाको क्षमता र सेवा गुणस्तर सुधार गर्नुपर्ने धारणा राखे।
इटहरीमा अर्को अस्पताल आवश्यक छ कि, नागरिकको पहुँचभित्र गुणस्तरीय सेवा आवश्यक छ भन्ने विषय स्पष्ट हुनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा स्वास्थ्य सेवासँगै खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, विषादी नियन्त्रण, अटिजम भएका बालबालिकाको उपचार, रक्तसञ्चार केन्द्र स्थापना, डिजिटल स्वास्थ्य अभिलेख र ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य सेवाजस्ता विषय पनि उठाइएका थिए।
सहभागीहरूले स्वास्थ्य समस्या अस्पतालभित्र मात्र सीमित नरहेको भन्दै विषादीयुक्त खाद्यान्न, अस्वस्थ जीवनशैली, मानसिक तनाव र स्वास्थ्य चेतनाको अभावले दीर्घकालीन चुनौती सिर्जना गरिरहेको बताए।
त्यसैले उपचारमुखीभन्दा निरोधात्मक स्वास्थ्य प्रणालीमा लगानी बढाउनुपर्नेमा जोड दिइयो।
छलफलको निष्कर्षमा इटहरीको स्वास्थ्य क्षेत्रका लागि दीर्घकालीन ‘हेल्थ रोडम्याप’ तयार गरी स्थानीय सरकार, निजी क्षेत्र र सामाजिक संस्थाबीच समन्वयात्मक ढंगले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
स्वास्थ्य सेवा विस्तारको बहसभन्दा पनि सेवा गुणस्तर, पहुँच र व्यवस्थापन सुधार अहिलेको प्रमुख आवश्यकता भएको सहभागीहरूको साझा धारणा देखिएको छ।














Discussion about this post