झापा : झापाको दमकस्थित रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ। मृतक दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रमा (रोमा) तिवारी रहेको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव सनाखत गरेपछि युवतीको पहिचान खुलेको हो।
यसअघि सेतुमारी पुल नजिक रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा ती युवतीको शव फेला परेको थियो। शवको अवस्था र फेला परेको तरिकाले घटनालाई रहस्यमय बनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले तिवारी जेठ १३ गते राति करिब ९ः३० बजेतिर घरबाट निस्किएपछि सम्पर्कविहीन भएको देखाएको छ। परिवारका सदस्यका अनुसार उनी त्यसयता घर नफर्किएकी थिइन्।
शव बोराभित्र बाँधिएको अवस्थामा खोलामा भेटिएपछि हत्या गरिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।
घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिएको र सम्भावित संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धान पूरा भएपछि घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिनेछ।
यो पनि – बोराभित्र महिलाको शव फेला, हत्या गरेर फालिएको हुन सक्ने














Discussion about this post