इटहरी : झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले झापाको कचनकवल गाउँपालिका–६ बाट भारतको किशनगञ्ज निवासी युवेद राजालाई ६९ ग्राम ६०० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
त्यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरले कचनकवल गाउँपालिका–४ का हेमन्त विश्वकर्मालाई ५ ग्राम १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
मोरङमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले धनपालथान गाउँपालिका–३ तथा रंगेली नगरपालिका–४ चोप्राह क्षेत्रमा चेकजाँचका क्रममा रंगेली–१ का सुदीप भट्टराईलाई ३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी उर्लाबारी–४ का अभिषेक कार्की र बेलबारी–२ का नवीन निरौलालाई ७ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित तथा सुन्दरहरैँचा नगरपालिका–७ का सुरज परियारलाई १३ ग्राम ८६० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यता सुनसरीमा इलाका प्रहरी कार्यालय धरानले धरान–१७ का भोला राईलाई ३४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post