विराटनगर : कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत विभिन्न जिल्लाबाट ब्राउनसुगर, प्रतिबन्धित औषधि र नगदसहित आठ जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर, ७९० वटा लागूऔषध ट्याब्लेट, ८६ हजार नगद तथा दुई वटा सवारीसाधन बरामद गरिएको छ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले सुनसरीको धरान–११ घर भई हाल इटहरी–४ मा बस्दै आएका दिनेश भट्टराईलाई उनकै कोठाबाट ४ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
त्यसैगरी अस्थायी प्रहरी पोस्ट जोरसखुवाले धरान–७ का रितेश भुजेललाई ३ ग्राम ४० मिलिग्राम ब्राउनसुगर र ४७ हजार नगदसहित तथा धरान–३ का शंकर गिरीलाई २ ग्राम ८० मिलिग्राम ब्राउनसुगर र ६ हजार नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, धनकुटाको प्रहरी चौकी हिलेले नियमित चेकजाँचका क्रममा संखुवासभाको धर्मदेवी नगरपालिका–१ का अनिल घिसिङलाई २५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
उदयपुरमा पनि लागूऔषध कारोबारविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। प्रहरी चौकी लालपत्ताले प्र. १–०५–००१ प ५९७१ नम्बरको स्कुटरमा सवार त्रियुगा नगरपालिका–१० का दिलीप खड्कालाई प्रतिबन्धित औषधि ओपिडोल र स्पास्मो गरी ४९० चक्कीसहित पक्राउ गरेको छ।
त्यसैगरी इलाका प्रहरी कार्यालय कटारीले प्र. २–०१–००१ प ५४७७ नम्बरको मोटरसाइकलमा सवार कटारी नगरपालिका–४ का श्याम सहनी र रविन खड्कालाई टापेन्टाडोल ३०० चक्की र ३३ हजार नगदसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका आठै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।





















Discussion about this post