विराटनगर : कोशी प्रदेश सरकारले अध्यादेशमार्फत नियुक्त गरिसकेका खेलकुद बोर्डका पदाधिकारीलाई प्रदेशसभाले कानुनी वैधानिकता दिएको छ।
प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश–२०८३ लाई प्रतिस्थापन गर्ने विधेयक पारित गरेको हो।
विधेयक पारित भएसँगै सदस्यसचिव, दुई उपाध्यक्ष र १३ सदस्य रहने खेलकुद बोर्डको नयाँ संरचनाले कानुनी आधार पाएको छ। यसअघि बोर्डमा एक उपाध्यक्ष र नौ सदस्य रहने व्यवस्था थियो।
सरकारले बजेट अधिवेशन सुरु हुनुअघि गत वैशाख २८ गते अध्यादेश जारी गर्दै खेलकुद बोर्ड पुनर्गठनको बाटो खोलेको थियो।
त्यसलगत्तै सत्तारूढ एमाले र नेपाली कांग्रेसबीचको भागबण्डाका आधारमा सदस्यसचिव, दुई उपाध्यक्ष तथा सदस्यहरू नियुक्त गरिसकिएको थियो।
अध्यादेशमार्फत नियुक्ति गरेपछि मात्र विधेयक ल्याइएको भन्दै विपक्षी दलले सरकारको आलोचना गरेका थिए।
संघीय सरकारको अध्यादेश अभ्यासको सार्वजनिक रूपमा विरोध गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वकै सरकारले प्रदेशमा पनि सोही अभ्यास दोहोर्याएको भन्दै राजनीतिक टिप्पणीसमेत भएको थियो।
प्रदेश खेलकुद बोर्डको सदस्यसचिव पद गत कात्तिकदेखि रिक्त थियो। नयाँ विधेयक पारित भएसँगै अध्यादेशमार्फत भएका नियुक्तिले अब औपचारिक कानुनी मान्यता पाएका छन्।




















Discussion about this post