झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्।
झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक शुक्रबार कार र मोटरसाइकल ठोक्किँदा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका दुई जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय मोहमद नुर स्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हक रहेका छन्। दुवै एउटै स्थानका बासिन्दा हुन्।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५१०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३८ एच ५५४७ को मोटरसाइकललाई शुक्रबार दिउँसो करिब १ बजेतिर ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका स्लामको दमक अस्पतालमा उपचारकै क्रममा दिउँसो २ः४० बजेतिर मृत्यु भएको हो। गम्भीर घाइते हकलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो।
उपचारकै क्रममा दिउँसो ३ः१० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




















Discussion about this post