इटहरी : सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक घटनापछि तनावग्रस्त बनेको क्षेत्रलाई वार्ता र संवादमार्फत सामान्य अवस्थामा फर्काउने प्रयास तीव्र पारिएको छ।
जिल्ला प्रशासन कार्यालयले दुवै पक्षका अगुवा तथा धार्मिक नेतासँग छलफल गरेर दीर्घकालीन समाधान खोज्ने तयारी गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार सुरक्षा अवस्था अहिले नियन्त्रणमा रहे पनि शान्ति पूर्ण रूपमा सुनिश्चित नभएसम्म कर्फ्यूलाई निरन्तरता दिइएको छ। उनका अनुसार बुधबार दिनभर कर्फ्यू कायम रहनेछ।
अर्यालले प्रशासनको प्राथमिकता बल प्रयोगभन्दा संवादमार्फत विवाद समाधान गर्नु रहेको बताउँदै दुवै समुदायका अगुवा र धार्मिक व्यक्तित्वसँग बसेर विश्वासको वातावरण निर्माण गर्ने प्रयास भइरहेको जानकारी दिए।
उनले घटनाका कारण जिल्लाका नियमित प्रशासनिक तथा सार्वजनिक सेवा प्रभावित भएको उल्लेख गर्दै सकेसम्म छिटो जनजीवन सामान्य बनाउने लक्ष्यका साथ प्रशासन सक्रिय रहेको बताए।
आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि देवानगञ्ज र आसपासका क्षेत्रमा तनाव फैलिएको थियो। त्यसको विरोधमा मंगलबार सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका थिए।
हाल स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना संयुक्त रूपमा परिचालनमा छन् भने प्रशासनले सबै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
















Discussion about this post