उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका २९ आश्रित परिवारलाई दसैँ खर्च उपलब्ध गराएको छ । नगरपालिकाले मंगलबार प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले कुल एक लाख ४५ हजार रुपैयाँ वितरण गरेको हो ।
वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकलाई चाडपर्वका बेला केही राहत प्रदान गर्ने उद्देश्यले नगरपालिकाले ‘वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आश्रित परिवारलाई सेवा तथा सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८३’ निर्माण गरी कार्यक्रम सञ्चालन गरेको हो ।
नगरप्रमुख कालुमान लामाले वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकको आर्थिक अवस्था र पीडालाई ध्यानमा राखेर स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने उद्देश्यले सहयोग उपलब्ध गराएको बताए ।
“हामीले अहिले उपलब्ध गराएको रकमले सबै समस्या समाधान हुँदैन । तर, उहाँहरूलाई चाडपर्वका बेला केही खुसी बाँड्न र स्थानीय सरकार साथमा छ भन्ने अनुभूति गराउन खोजेका हौँ,” लामाले भने ।
उनका अनुसार नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई व्यवसाय सञ्चालन गर्न आर्थिक सहयोग गर्दै आएको छ । उनीहरूका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य उपचार कार्डमार्फत निःशुल्क उपचारको व्यवस्था गरिएको उनले बताए ।
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रोशनी कार्कीले उदयपुरमा पहिलो पटक चौदण्डीगढी नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका आश्रित परिवारलाई दसैँ खर्च उपलब्ध गराएको जानकारी दिइन् । प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले २९ परिवारलाई रकम वितरण गरिएको उनले बताइन् ।
कार्कीका अनुसार पीडित महिलालाई उद्यम विकास कार्यक्रममा समावेश गरी आत्मनिर्भर बनाउन सहयोग गरिँदै आएको छ । उनीहरूलाई सीप विकास, आयआर्जन तथा उद्यम सञ्चालनका लागि आर्थिक, प्राविधिक र सामाजिक सहयोगसँगै आवश्यक परामर्शसमेत उपलब्ध गराउने गरिएको उनले बताइन् ।
कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलालले वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकको पीडामा मलम लगाउने प्रयासस्वरूप चाडपर्व खर्च उपलब्ध गराइएको बताइन् । रकम पर्याप्त नभए पनि चाडपर्वका बेला परिवारमा खुसी बाँड्न सहयोग पुग्ने उनको विश्वास थियो ।
यसअघि नगरपालिकाले नगरभित्रका २२८ विपन्न मुसहर परिवारलाई प्रतिपरिवार तीन हजार रुपैयाँका दरले दसैँ खर्च उपलब्ध गराएको थियो । चाडपर्वका बेला विपन्न तथा समस्यामा परेका परिवारलाई राहत र खुसीको अनुभूति गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चाडपर्व खर्चसँगै सीप विकास, उद्यमशीलता र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिँदै वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाएका नागरिकलाई आत्मनिर्भर बनाउन सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
















Discussion about this post