इटहरी : सुनसरीमा सुरक्षा अवस्था क्रमशः सुधारउन्मुख देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको दायरा घटाएको छ। अब निषेधाज्ञा चार स्थानीय तहमा मात्र लागू हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आइतबार जारी गरेको सूचनाअनुसार साउन १७ गते साँझ ७ बजेदेखि साउन १८ गते (सोमबार) बिहान १० बजेसम्मका लागि देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेध आदेश लागू गरिएको छ।
जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएको निष्कर्षका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेध आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डपछि प्रशासनले चरणबद्ध रूपमा कर्फ्यू र त्यसपछि विभिन्न स्थानीय तहमा निषेधाज्ञा लागू गरेको थियो। पछिल्लो निर्णयसँगै यसअघि निषेधाज्ञा लागू रहेका अन्य क्षेत्रबाट प्रतिबन्ध हटाइएको छ।
प्रशासनले निषेधाज्ञा लागू भएका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।













Discussion about this post