इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागू रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार सूचना जारी गर्दै जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा अवस्था सुधारउन्मुख देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम लागू गरिएको निषेध आदेश हटाइएको जानकारी दिएका हुन्।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डपछि उत्पन्न तनावका कारण प्रशासनले सुरुमा कर्फ्यु आदेश जारी गरेको थियो। त्यसपछि चरणबद्ध रूपमा विभिन्न स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको थियो।
सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएपछि प्रशासनले निषेधाज्ञाको दायरा घटाउँदै लगेको थियो। अन्तिम चरणमा देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेधाज्ञा कायम रहेकोमा अब त्यो पनि हटाइएको हो।
प्रशासनले जिल्लाको सुरक्षा अवस्था सामान्य हुँदै गएको निष्कर्षका आधारमा निषेध आदेश हटाइएको जनाएको छ।
निषेधाज्ञा हटेसँगै जिल्लाभर सर्वसाधारणको आवतजावत, व्यापार–व्यवसाय तथा सार्वजनिक गतिविधि पूर्ण रूपमा सामान्य हुने अपेक्षा गरिएको छ।













Discussion about this post