इटहरी : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
बिहीबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण भ्रमणका क्रममा उनले तीव्र गति, ओभरलोड तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाउने चालकविरुद्ध कडाइका साथ कारबाही गर्न निर्देशन दिए।
उनले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि प्रभावकारी कारबाही गर्न राडार गन, सिसिटिभी, मापसे र लापसे जाँच किटजस्ता आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए।
यस्तै, लामो दूरीका यात्रुवाहक सवारीमा दुई चालक अनिवार्य भए–नभएको, तोकिएको भाडादर लागू भए–नभएको, आरक्षण सिटको व्यवस्था तथा टाइम कार्ड कार्यान्वयनको अवस्थाबारे कडाइका साथ अनुगमन गर्न उनले निर्देशन दिएका थिए।
खासगरी ट्राफिक चेकिङका क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी नदिई शिष्ट र मर्यादित व्यवहार गर्न तथा सडक सुशासनको अनुभूति हुने गरी ट्राफिक व्यवस्थापन गर्नुपर्ने उनले बताए।
उनले सवारी चालक, सहचालक, पैदलयात्री र विद्यार्थीलाई लक्षित गरी नियमित ट्राफिक सचेतना तथा प्रशिक्षण सञ्चालन गर्न र कार्यसम्पादन सम्झौता तथा स्वचालित कार्यसम्पादन अभिलेख (अटोमेसन) अनुसार लक्ष्य हासिल हुने गरी ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन पनि निर्देशन दिए।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवा प्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।











Discussion about this post