इटहरी : सुनसरीमा प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेको तीन लाख ६२ हजार २२५ बराबरको लत्ताकपडा बरामद गरेको छ।
बर्जु गाउँपालिका–१ स्थित दुर्गा मन्दिरबाट भन्सार छलीका सामान ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको टोलीले आइतबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एक लाख ४३ हजार २२५ बराबरको लत्ताकपडा बरामद गरेको हो।
सामान ओसारपसारमा प्रयोग गरिएको प्र.१–०२–००५ ह ०८५१ नम्बरको सिटी सफारीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, सोही दिन दिउँसो करिब २ बजेतिर बर्जु गाउँपालिका–६ जानकी चोकबाट इलाका प्रहरी कार्यालय चिमडीको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको दुई लाख १९ हजार बराबरको लत्ताकपडा बरामद गरेको प्रहरीले जनाएको छ।
दुवै स्थानबाट बरामद गरिएको लत्ताकपडा र सिटी सफारी गरी कुल तीन लाख ६२ हजार २२५ बराबरको सामान नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ।
बरामद सामान सम्बन्धमा थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।












Discussion about this post