उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर घुस लिएको अभियोग लागेको छ ।
सामुदायिक वनको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिसका लागि सेवाग्राहीलाई दुःख, हैरानी दिँदै आलटाल गरेको र त्यसपछि १५ हजार रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा पदीय जिम्मेवारीको दुरुपयोग गरी सेवाग्राहीसँग रकम लिएको पुष्टि भएपछि उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार पौडेलको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा परेको छ । आयोगले १५ हजार रुपैयाँलाई बिगो कायम गर्दै सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ ।
सेवाग्राहीको काममा अनावश्यक ढिलाइ तथा झन्झट सिर्जना गरेर आर्थिक लाभ लिने प्रवृत्तिमाथि अख्तियारले अनुसन्धान तीव्र बनाइरहेको सन्दर्भमा पौडेलविरुद्धको मुद्दा दायर भएको हो ।












Discussion about this post