इटहरी : सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५६६ किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई बुधबार राति ११ः५० बजेतिर शंका लागेर चेकजाँच गर्ने क्रममा बन्दागोपीले छोपेर राखिएको अवस्थामा ८३ बोरा गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्रक रोकेर जाँच गर्दा बरामद भएको पदार्थ तौल गर्दा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम रहेको थियो ।
प्रहरीले ट्रकका चालक र सहचालकसहित गाँजा र ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post